काठमाडौं– तिलोत्तमा नगरपालिका, रुपन्देही, भैरहवास्थितपाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनमा गएको छ। अध्यक्ष बुद्धि सुवेदीले नयाँ व्यवस्थापनका साथ रिसोर्टको सेवा सुरु गरिएको बताएका छन्।
साथै उनले रिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पूर्ण करहरु तिर्न तयार रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष सुवेदीसहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्दै विरोध भइरहेको बेला उनले बुधबार पत्रकार सम्मेलन गरेर कर तिर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन्।
कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु तिर्नका लागि तयार भएको जानकारी कर कार्यालयलाई दिइसकेको उनले बताए। नेपालमा नाफा कमाउन नआएको भन्दै उनले देशप्रतिको दायित्व पूरा गर्न आएको दाबी गरे।
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सञ्चालन गर्दै आएको थियो। अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो।
कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन। करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो। रिसोर्टले नेपालका बैंकलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन। बैकको दायित्व साढे २ अर्ब रुपैयाँ छ।
‘प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि हामी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेका हौं’ सञ्चालक दीपक गौतमले भने।
सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत् नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत् सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको उनले जानकारी दिए। सोहीअनुसार टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्टमा हस्तान्तरण हुन आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।