काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भीम रावलसँग संवाद गरेका छन्। नेकपा विभाजनपछि सौहार्द्र हुन नसकेको सम्बन्ध निर्माणमा अध्यक्ष ओलीले गरेको यो अर्को प्रयास हो।
यअसघि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा सम्मिलित वार्ता समिति नै गठन गरेर रावलको ‘चाहना’ बुझ्न लगाइएको थियो। उक्त वार्तामा ‘विगतका घाउ नकोट्याउने’ प्रारम्भिक सहमति भएको वार्ता कमिटी सदस्य थापाले बताएका थिए। जहाँ रावलले पार्टीप्रति आफू सकारात्मक रहेको तर केही कामकारबाही चित्त नबुझिरहेको बताएका थिए।
वार्ता कमिटीले रावलको मन बुझेपछि त्यसको ब्रिफिङ अध्यक्ष ओलीलाई गरेको थियो। त्यही संवादका आधारमा अध्यक्ष ओलीलाई चितवन महाधिवेशनमा अध्यक्षकै प्रत्यासी बनेका रावलसँग संवाद गर्न सहज भएको हो।
ओली-रावल मिलनका लागि एमाले उपाध्यक्ष पौडेलका साथै कुनैबेला रावलका सबैभन्दा ठूलो आलोचक सांसद दयालबहादुर शाहीले निरन्तर प्रयास गरेका हुन्। रावलनिकट एमाले नेता झपट रावल पनि ओली-रावल संवादहीनताको अन्त्यको जस शाहीलाई दिन्छन्।
यद्यपि रावलले अध्यक्ष ओलीसँग सामान्य भलाकुसारी मात्रै भएको बताएका छन्। भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले भने, ‘भेट नभएको धेरै भएको थियो। एकअर्कासँग भलाकुसारी भयो। देशको स्थिति, पार्टीको अवस्था कस्तो छ, आफ्ना सोच दृष्टिकोण कस्ता छन् भन्ने कुरा भयो। फेरि कुराकानी गरौं भन्ने मात्र भयो।’
मंगलबारको भेटले ओली र रावललाई संवादका लागि ‘संयन्त्र’ आवश्यक नपर्ने परिस्थिति सिर्जना गरेको रावलनिकट नेताहरुको भनाइ छ। झपट रावल भन्छन्, ‘अब आवश्यक परेको जुनसुकै समय भेटेर वा फोनमै दुई नेताहरुबीच कुरा गर्ने परिस्थिति बन्यो। यसले आगामी दिनमा सम्बन्ध अझै हार्दिक बनाउने सम्भावना बढेको छ।’
२०७८ मंसिर १०-१२ मा चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा रावलले अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिएका थिए। त्यसपछि बढेको ओली-रावल दूरी घटाउने प्रयत्न यो बीचमा गरिएको थियो। तर, सम्भव बल्ल भएको हो।
रावलप्रति सकारात्मक ओली!
एमाले अध्यक्ष ओलीले रावलसँग संवाद गर्न पहिले वार्ता कमिटी बनाए। अहिले आफैंले दुई घण्टा अन्तरंग गरे। ओलीनिकट नेताहरुका अनुसार रावललाई हेर्ने दृष्टिकोणमा अहिले बदलाव आएको छ।
चितवन महाधिवेशनमा ओलीले बनाएको सूचीलाई चुनौती दिने अग्रपंक्तिका दुईजना नेता थिए, रावल र घनश्याम भूसाल। रावलले पार्टीमै संघर्ष गरे। पार्टीकै लागि बोलिरहे। पार्टी परित्याग गरेनन्। गत महाधिवेशनमा रावल र भुसाल दुवैलाई टिकट दिइएन। भुसालले पार्टीबाट विद्रोह गरे। स्वतन्त्र उम्मेदवारी दिएर सत्ता गठबन्धनको साथ लिए पनि जित्न सकेनन्। उनी अहिले एकीकृत समाजवादीको महासचिव बन्न पुगेका छन्।तर, परिस्थिति आफ्नो पक्षमा नहुँदा पनि रावल एमालेमै अडिए।
एमाले नेताहरुका अनुसार अध्यक्ष ओलीले रावलको यो भावनालाई अहिले बुझेका छन्। ओलीपक्षीय नेता शाही भन्छन्, ‘कम्युनिस्ट नेताहरु मूल पार्टीसँग रिसाएपछि दरबार पस्ने, राजावादी बन्ने, कांग्रेस बन्ने र अर्कै पार्टी खोल्ने इतिहास छ। तर, रावलले त्यस्तो बाटो रोजेनन्। यसलाई अध्यक्षज्यूले सकारात्मक रुपमा लिनुभएको छ।’
कुनै समय रावलले आफूलाई पार्टीबाट कारबाही गरेको भन्दै निरन्तर आलोचना गरेका शाही गत असोजदेखि रावललाई एमालेले उचित जिम्मेवारी दिनुपर्ने भन्दै लबिङ गरिरहेका छन्। असोजमा शाहीले रावललाई जिम्मेवारी दिनुपर्ने बताउँदै अध्यक्ष ओलीले '‘को रावल?’ भन्दै नजरअन्दाज गरेका थिए। तर, शाही भने रावलको सक्रियताबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी पश्माचिममा संगठन बलियो बन्ने मत निरन्तर राखिरहेका छन्।
‘बुढो’ रावलको आवश्यकता
चुनावअघि अध्यक्ष ओलीले सुदूरपश्चिमका केही जिल्लामा सभा गरे। सभामा उपस्थितहरुबाट ‘भीम रावल खोई’ भनेर माग नै भयो। तर, ओलीले रावलको प्रभावलाई नजरअन्दाज गरे। ओली उल्टै प्रतिवादमा उत्रिए, ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्यो? २०४८ सालदेखि एकछिन मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’
रावलले त्यहीबेला ओलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको बताएका थिए। उनले भनेका थिए, ‘म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो?’
ओलीको नजरमा त्यो समय ‘बुढो’ बनिसकेका रावल सुदूरपश्चिममा एमालेको साख फर्काउन अहिले आवश्यकता बनेका छन्। ओली पक्षका नेता एवं सांसद दयाल शाही भन्छन्, ‘कुनै समय १८ मा १६ जितेको एमालेले अहिले जम्मा दुई सिट जितेको छ। त्यसकारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी पश्चिमका लागि एमालेले केही फरक तरिकाले सोच्नैपर्छ।’
चुनावअघि माओवादी केन्द्रबाट एमालेमै बसेका लेखराज भट्टबाट रावललाई प्रतिस्थापन गर्ने ओली रणनीति थियो। त्यहीअनुसार ओली पक्षका सुदूरपश्चिमका नेताहरु सक्रिय भए। तर, भट्टबाट सुदूरपश्चिम प्रदेश नधानिने गएको निर्वाचनले देखायो। भीम रावलबिनाको एमाले सुदूरपश्चिममा भारी गिरावट आयो। भट्ट आफैंले पनि चुनाव जित्न सकेनन्। अछामबाट २०४८ देखि निरन्तर प्रतिनिधि सभाको निर्वाचन लड्दै आएका रावललाई टिकट नदिई एमालेले रावलको चुनावी क्षेत्र अछाम-१ मा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएको थियो। उक्त क्षेत्रमा बोहोरा एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग पराजित भए।
सुदूरपश्चिममा ‘भट्ट कार्ड’ खेल्नुको पछाडि ओली पक्षका नेताहरुको ब्रिफिङ पनि थियो। रावलबिना पनि सुदूरपश्चिममा एमालेले राम्रो मत ल्याउने चुनावअघि ओलीनिकट नेताहरुले ब्रिफिङ गरेका थिए। चुनावी परिणाममा रावल पाखा लागेकै कारण कम्तिमा तीन सीट प्रत्यक्ष र झण्डै तीन लाख हाराहारीमा भोटसमेत गुमाएको एमालेहरुको विश्लेषण छ।
ओली गुटकै तिक्तता
सुदूरपश्चिममा रावलको निष्क्रियतापछि ओलीगुटका नेताहरुको हालीमुहाली भयो। तर, ओलीगुटका समकक्षी नेताहरुबीच एकले अर्कोलाई सहज रुपमा नस्वीकार्ने परिस्थिति बनेको छ। अहिले ओलीगुटकै नेताहरुबीच तिक्तता बढ्दो छ। यसले पार्टीलाई थप क्षति पुग्ने ब्रिफिङ उक्त प्रदेशका नयाँ ईञ्चार्ज छविलाल विश्वकर्माले बालकोटलाई सुनाएको बुझिएको छ।
पार्टीको अर्को गुटलाईसमेत मिलाउने समयमा आफ्नै गुटमा बढिरहेको तिक्तता अध्यक्ष ओलीले नजिकबाट नियालिरहेका छन्। ओलीसँग असीम लगाव रहेका नेताहरु कर्ण थापा, दामोदर भण्डारी, राजेन्द्र रावल र दयालबहादुर शाहीहरुका भाष्यमा अन्तरद्वन्द्व झल्किन्छ।
ओलीगुटमै तर फरक लाइन लिन लागिरहेकाहरुलाई ‘साइज’मा राखेर सुदूपश्चिममा एमाले बलियो बनाउन फेरि रावललाई नै अघि सार्नुपर्ने अवस्था बनेको छ। आफ्नै प्रतिष्पर्धाका कारण ओलीसँग नजिक-टाढा हुने नेताहरु फरक तरिकाले प्रस्तुत हुन थालेका छन्। ओलीको विकल्पमा सोही गुटकै पूर्व नेता पूर्वराष्ट्रपति विद्या भण्डारी अघि सार्नुपर्नेसम्मका विचार आउन थालेका छन्।
सुदूरपश्चिममा ‘ओलीको सिपाही’ कर्णबहादुर थापा अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘पार्टीले खोजिरहेको’ बताउन थालेका छन्। ओलीको यो कार्यकालपछि नेतृत्वका लागि अर्को पुस्ता विभाजित हुनुभन्दा उक्त विकल्प सही रहेको उनको बुझाइ छ। तर, उनको अभिव्यक्तिमा बालकोट सकारात्मक नभएको केही दिनअघिको पत्रकार सम्मेलनमा देखियो। पूर्वराष्ट्पति भण्डारी पार्टीमा फर्किने विषयलाई खण्डन गर्दै उनले भने, ‘पार्टीभित्र समस्या ल्याउने कोसिस भइरहेको छ।’
सुदूरपश्चिमकै ओलीगुटका नेता थापाले यसरी बोल्नु र ओलीले रावल भेट्नु ‘बाघ कराउनु र बाख्रो हराउनु’ जस्तै बनेको छ। आफूलाई लागेको कुरा प्रस्ट राख्ने स्वभाव भएकाले दाउपेचका राजनीतिमा कुनै रुचि नभएको थापा बताउँछन्। रावलका विषयमा भन्छन्, ‘राष्ट्रिय शक्ति एमाले नै हो। यस्तो संकटका घडीमा नेताहरुलाई जिम्मा-जिम्मेवारी दिएर अघि बढ्नुपर्ने हामीले नै बताएका हौं र यो भेटघाटको माहोल पनि हामीले नै मिलाएका हौं।’
एमाले फुटेर एकीकृत समाजवादी बन्ने क्रममा सबैभन्दा धेरै क्षति सुदूरपश्चिममै भएको थियो। सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा ठूलो संसदीय दल एकीकृत समाजवादीको बनेको थियो। अहिले भने संघीय संसद्मा सुदूरपश्चिमबाट एकीकृत समाजवादीका तीन सांसद् प्रत्यक्ष निर्वाचित छन्, जबकी एमालेका दुई मात्रै छन्।
एकीकृत समाजवादी पार्टीले गति लिन नसकिरहेको अवस्थामा एमालेमै नेता-कार्यकर्ता फर्किने क्रम चलेको छ। तर, सुदूरपश्चिममा त्यो क्रमले अपेक्षित रफ्तार पकडेको छैन। रावलको पार्टीमा सक्रियता बढ्दा एकीकृत समाजवादीबाट नेता-कार्यकर्ता फर्काउने सम्भावना पनि बढ्नेछ। किनभने एकीकृत समाजवादी रोज्ने अधिकांश नेता-कार्यकर्ता रावलनिकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।