काठमाडौं– आध्यात्मिक गुरु स्वामी चन्द्रेशको पार्थिव शरीरलाई मंगलबार बुढानिलकण्ठस्थित उनकै आश्रममा समाधिस्थ गरिएको छ।
उनको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको हो। उनी लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।
ह्याम्स अस्पतालमा डायलाइसिसका लागि गएको बेला उपचारका क्रममा उनको निधन भएको उनका एकजना शिष्यले बताए।
झण्डै ५२ वर्षअघि नेपाल आएका उनले सुरुमा शिवपुरी जंगलभित्रै ध्यान साधना गरेका थिए। पछि उनले बुढानीलकण्ठमा आश्रम खोलेका थिए।
उनले त्रिकोणात्मक पद्धतिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय पनि सञ्चालन गरेका थिए। अध्यात्म, सीप विकास तथा सूचनामा आधारित शिक्षाले मात्रै योग्य व्यक्ति, असल समाज र उत्कृष्ट सभ्यताको निर्माण हुन सक्ने उनको भनाइ थियो।
भारतको विभाजन हुनुभन्दा पहिले तत्कालीन ‘इष्ट बङ्गाल’ मा जन्मिएका उनका ‘ओसन इन द ड्रप,’ ‘इनर लाइट’, पतञ्जली योग सूत्र लगायतका थुप्रै पुस्तक अंग्रेजी, नेपाली तथा बंगाली भाषामा प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।