काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको हो।
यस वर्षको नतिजा गत वर्षको भन्दा सप्रिएको छ। अघिल्लो वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएकोमा यस वर्ष ५१ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका छन्।
यस वर्ष उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको संख्यामा पनि उल्लेख्य सुधार देखिएको छ। सार्वजनिक नतिजाअनुसार यस वर्ष ६ हजार ९७५ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका थिए। गत वर्ष उक्त श्रेणीमा पास हुने विद्यार्थीको संख्या ४ हजार १७९ रहेको थियो।
यसैगरी ३८ हजार ९९९ जनाले ३.२१ देखि ३.६० जीपीए र ६९ हजार १७४ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन्। माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्दा २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या यस वर्ष घटेको छ। अघिल्लो वर्ष ६४ हजार ९३ जना उक्त जीपीएमा पास भएकोमा यस वर्ष उक्त संख्या ६३ हजार ७७ रहेको छ।
यसैगरी एनजी ल्याउने विद्यार्थीको संख्यामा पनि केही कमी आएको छ। यस वर्ष १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन्। अघिल्लो वर्ष यस्तो नतिजा १ लाख ८८ हजार ४१० जनाले ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।