काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ पुस ५ गते प्रतिनिधि सभा भंग गर्ने कदम सही भएको दाबी गरेका छन्।
मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले प्रतिनिधि सभा भंग गरेर त्यसबेला प्रतिक्रियावादीहरुको वामपन्थी आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र असफल पारेको जिकिर गरेका छन्।
उनले भने, ‘पुस ५ गते जुन हामीले प्रतिनिधि सभा विघटन गर्यौं। त्यो हामीले ठीक ठानेर गर्यौं। ठीक थियो भनेर गर्यौं। नगरी नहुने थियो र गर्यौं। विल्कुलै सामूहिक कदम चाल्यौं। होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र हुँदै थियो। हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार पारेका थिए। त्यो डोरी छिनालिदियौं। पुस ५ गतेको कदम भनेको त्यही हो।’
प्रतिक्रियावादीहरुको षड्यन्त्र असफल भएपछि उनीहरु असाध्यै आत्तिएको ओलीले भने। उनले भने, ‘त्यो षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए। उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि। उनीहरुलाई त्यही डर थियो कि प्रतिनिधि सभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने।’
आफूहरुमाथि सांगठनात्मक प्रहार गर्ने र संगठन ध्वस्त पार्ने प्रतिक्रियावादीको सपना चकनाचुर पार्ने काम गरेको ओलीले दाबी गरे। उनले अघि भने, ‘हामीमाथि त्यतिबेलाको सबैभन्दा ठूलो प्रहार के थियो भने सांगठनात्मक प्रहार थियो। हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यसलाई हामीले चकनाचुर पार्यौं।’
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।