काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्। मंगलबार काठमाडौंमा सम्पादकहरूसँगको भेटमा उनले आजभोलि नै छानबिन अघि बढ्ने बताएका हुन्।
उनले भने, ‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्न निर्देशन दिइसकेको छु। आजभोलिमै छानबिन अघि बढ्छ।’
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा सुनकाण्डमा महरा बाबुछोराकै नाम आएकाले सोही अनुसार अनुसन्धान हुने उनले बताए।
केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महराको नाम जोडिएको थियो। सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो।
उक्त सुन प्रकरणका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा पनि महरा र उनको छोराको चिनियाँ नागरिकसँग सम्पर्क तथा सम्बन्ध भएको र विमानस्थल भन्सार कार्यालयमा पनि लिलामीको बारेमा चासो राखेको उल्लेख थियो। तर उक्त प्रकरणमा उनीहरुमाथि बयान समेत नलिइ अभियोग पत्र दायर भएपछि अहिले सार्वजनिक प्रश्न उठिरहेको छ।
यसैगरी उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू संलग्न भएको आशंका गरिएको झापाको गिरीबन्धु टी स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार भएको फाइल अनुसन्धान हुने बताए।
प्रधानमन्त्री प्रचण्डले ललिता निवास, नक्कली भुटानी शरणार्थी र पछिल्ला सुन तस्करी प्रकरणमा संलग्न आफ्नै दलका नेतासहित जोसुकै भए पनि अनुसन्धान नरोकिने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।