काठमाडौं- एनआरएन परिचयपत्रका लागि पहल गर्न आग्रह गर्दै थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन्। उनीहरूले मंगलबार अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष सिंहदरबारमा भेट गरेका हुन्।
भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैर आवासीय नेपाली (एनआरएन) परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्या समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन व्यक्त गरे।
दोस्रो विश्व युद्धताका थाई र नेपालबाट म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका अहिले चौथो पुस्ताले त्यहाँ बसोबास गरिरहेका छन्। गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाइल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन रहेको उनीहरूले बताएका थिए।
गैर आवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्नदेखि भिसा र अन्य सुविधाबाटसमेत वञ्चित हुनु परेको गुनासो उनीहरूको छ। नेपाली मौलिक संस्कार र संस्कृतिको बाेध गराउन पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष बासना राईले बताइन्।
थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।