काठमाडौं– सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको कथित संलग्नताबारे कुरा उठेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलका नेताहरुले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई महराको संलग्नताबारे प्रश्न गरेका थिए।
सुन तस्करी प्रकरणमा महराको नाम जोडिएको छ यसमा के हो कुरा भन्ने विषयमा प्रश्न उठेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
उनले भने, ‘सुन प्रकरणमा पूर्व सभामुखको नाम पनि जोडिएको छ। उहाँको संलग्नता कति हो? फोन सम्पर्कले मात्रै हुन्छ कि हुँदैन? भन्ने प्रश्न नेताहरुले गृहमन्त्रीलाई सोध्नुभएको छ।’
उक्त प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले अहिले छानबिन भइरहेको र छानबिनको प्रक्रिया सकिएपछि मात्रै आफूले जानकारी दिनसक्ने बताएको नेता पाण्डेले जानकारी दिए। साथै ललिता निवास प्रकरणमा पनि अदालतको पछिल्लो फैसलाबारे छलफल भएको उनले बताए।
अदालतको फैसला के हो? भन्ने बारेमा कुरा उठेको तर यसमा कुराकानी टुंगिन नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।