काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् अपहरणमा परेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, 'पार्लियामेन्ट इज हाइज्याक्ड (संसद् अपहरणमा पर्यो)। यो लोकतन्त्रको मूल्य र मान्यतामाथि कुठाराघात हो।' आफूले संसद्को रेकर्डमा महत्वपूर्ण कुरा राख्न खोजेको उल्लेख गर्दै उनले एमालेले संसद् अवरोध गरेका कारण सदन नियमित चल्न नसकेको बताए।
अवरोधकै बीच संसद्मा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका मानवीर राई बोलेका थिए। रास्वपा सभापति लामिछानेले बोल्ने समय मागे पनि सभामुख देवराज घिमिरेले समय दिएनन्।
लामिछानेले संसद्बाहिर पनि गलत संसदीय अभ्यास भएको बताए। आफूहरूले बोल्न नाम टिपाउनुका साथै समय मागे पनि नदिइएको उनले बताएका थिए। उनले भने, 'सम्मानीय सभामुखज्यूबाट यसअघि पनि यस्तै भएको थियो। आज पनि भयो। हाम्रो अपेक्षा थिएन।'
उनले संसद् बन्दी बनाइएको भन्दै भर्त्सना गरेका थिए। पहिल्यै योजना बनाएर आएजस्तो गरी संसद् चलाइएको टिप्पणी गर्दै उनले भने, 'संसद्मा त्यति मात्रै सुनियो। जति सुन्न चाहिएको थियो।'
सोमबार पनि नेकपा एमालेले अवरोध गर्दा संसद् बैठक स्थगित भएपछि उनले सामाजिक सञ्जालमा पनि संसद् अपहरणमा परेको टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।