काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमाले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागमा अडिग रहेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सुन प्रकरणको अनुसन्धानका लागि छानबिन समिति गठन गर्नु अनिवार्य रहेको निर्णय गरेको छ।
बैठकपछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन प्रकरणले देशको सुरक्षा र अन्तर्राष्ट्रिय छविमासमेत असर पार्दै लगेकाले छानबिन समिति गठनमा पार्टी अडिक रहेको जानकारी दिए।
सुन प्रकरणको अनुसन्धान जरैसम्म पुग्नका लागि उच्चस्तरीय छाननबिन समिति अनिवार्य रहेको पार्टीको निर्णय भएको उनको भनाइ छ। उनले यो प्रकरणले मुलुको राजनीतिलाई पनि अप्ठ्यारोमा धकेल्दै लगेको बताएका छन्।
उनले भने, ‘विशेष गरी सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे गम्भीर छलफल गरेका छौं। यससँग जोडिएका अनेकौं तथ्यहरु देखिरहेका छन्। यसले मुलुकुको राजनीतिलाई अप्ठ्यारोमा धकेल्दै गइरहेको छ। यसको लागि छानिबिन समिति गठन अनिवार्य छ।’
साथै सीआईबीले गोदाम खानतलासी गर्ने तर त्यहाँ कारखानामात्र भेटिने र सुन नभेटिने कुराले यसमा सरकारकै संलग्नतातर्फ संकेत गरिरहेको बताए। सुन प्रकरणमा जरैसम्म पुगेर छानबिन नगरे भूराजनीतिक समस्यासमेत सिर्जना गर्ने उनको भनाइ छ।
उनले छानबिनको माग गर्नेलाई थुनामा राख्ने, प्रतिपक्षीको आवाजलाई दबाउने काम सरकारले गरिरहेको आरोप लगाए। साथै माओवादी उपाध्यक्ष कृष्णबहादुर महारातर्फ इंगित गर्दै नेता ज्ञवालीले सीआईबीले किटान गरेका व्यक्तिलाई छानबिनको दायरामा नल्याउने र सरकारी वकिलले पनि उनीहरुको नाम हटाएर मुद्दा दर्ता गर्ने प्रक्रियाका कारण सुन तस्करीमा सरकारकै संलग्नता हुनसक्ने बताए।
उनले छानबिन समिति गठन गर्न ढिलाई गरे यससँग सम्बन्धित प्रमाणहरुसमेत नष्ट हुने सम्भावना भएकाले यथाशक्य समिति गठन गरी गम्भीर रुपमा छानबिन हुनुपर्ने माग एमालेको रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।