काठमाडौं- प्रतिनिधि सभामा नेकपा एमालेले सोमबार पनि अवरोध कायम राखेको छ। एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको गठनको माग कायम राखेको छ।
एमालेका तर्फबाट बोल्दै सांसद मानवीर राईले सरकारको दबाबका कारण त्यस अन्तर्गतका संयन्त्र निष्क्रिएको भएको दाबी गरे। उनले विमानस्थलको सीसीटीभीदेखि तस्करी दर्शाउने प्रमाणसमेत नष्ट पारिएको हुन सक्ने आशंका गरे।
उनले भने, 'सरकारको दबाबका कारण सबै संयन्त्रहरु निष्क्रिय पारिएको छ। प्रमाण नष्ट पारिएका हुन सक्छन्। त्यसैले हामीले उच्चस्तरीय समितिको माग कायम राखेका छौं।'
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको सुन तस्करसँग सम्पर्क रहेको प्रमाण हुँदा पनि अनुसन्धान अघि नबढाइएको उनले उल्लेख गरे। यसले सरकारको नियतमा आशंका उत्पन्न भएको उनले बताए।
एमालेले आफ्नो अवरोध कायम राखेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक स्थगित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।