काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकार प्रजातन्त्रिक हो कि आतंककारीहरुको हो भन्दै प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले आफूलाई आतंककारीको शैलीमा गिरफ्तारी गरिएको भन्दै उक्त प्रश्न गरेका हुन्।
उनले भने, ‘यो देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको सरकारको नेतृत्व गरिरहनुभएको छ कि लोकतान्त्रिक सरकारको नेतृत्व गरिरहनुभएको छ?’
सांसद शर्माले आफूले सुन तस्करहरुका नाइके वा त्यसमा संलग्नहहरुको राजीनामा माग्दा आफूलाई गिरफ्तारी गर्ने काम भएको बताए।
उनले भने, ‘यो राज्यसत्ताले जब मैले यो मुलुकका सुन तस्करहरुका नाइकेहरुको वा संलग्नहरुको राजीनामा मागे तब गिरफ्तारी गर्ने काम गरियो।’
साथै सांसद शर्माले प्रजातान्त्रिक मुलुकमा जनताका प्रतिनिधिहरुलेसमेत बोल्न नपाइने भएको भन्दै जनताको अवस्था के होला भन्ने प्रश्न सरकारलाई गरेका छन्।
साथै उनले गृहमन्त्रीले आफूलाई आतंककारीको शैलीमा गिरफ्तारी गरेकाले राजीनामा दिनुपर्ने माग गरे। राजीनामा नदिए आमरण अनशनमा बस्ने शर्माले घोषणा गरे।
उनले भने, ‘यो प्रजातान्त्रिक प्रणालीमा बोल्न पनि पाइँदैन। राजीनामा माग्न पाइँदैन भने, जनताको अवस्था के होला। अहिलेका गृहमन्त्री जसले आतंककारीको शैलीमा मलाई गिरफ्तारी गर्नुभयो। उहाँले राजीनामा दिनुभएन भने म आमरण अनुसन बस्छु। त्यसपछि के होला हेरौंला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।