काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। युरोप भ्रमण सकेर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले उक्त जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताए।
नेपालले आफूले ७ रोपनी थप जग्गा नेपाल सरकारको नाममा ल्याउन सफल भएको दाबी गरे। उनले भने, ‘७ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने सफल भएको छु। त्यहाँ कोही नक्कली मोहीको नाम पर्यो कि भन्ने कुरा छ। त्यो तथ्य, तथ्याङ्कले घटनाको प्याक्ट एण्ड फिगरले यी सबै कुरा बताउला। जो जो त्यसमा संग्लन छन् भन्ने कुरा पनि होला। मेरो यसमा कुनै संग्लग्नता रहेको छैन। मेरो पालामा यो जटिलता, अफ्ठ्यारो झमेला कसैले भनेको थिएन।’
उनले आफू निर्दोष कोही नफसुन र दोषी कोही नउम्किउन भन्ने मान्यतामा रहेको बताए। ‘नबिराउनु न डराउनु’ भन्ने आफ्नो मान्यता रहेको पनि नेपालले उल्लेख गरे।
‘यो मेरो सुरुदेखिको मान्यता रहेको छ। मैले कुनै विराएको छैन। कुनै बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन। कुनै भ्रष्टाचार गरेको छैन। कुनै लेनदेन गरेको छैन,’ नेपालले भने।
आफूले कुनै गल्ती नगरेका कारण नआत्तिएको नेपालले दाबी गरे। अध्यक्ष नेपालले केही कुरामा भने चित्त दुखेको बताए।
केही बदमासी भएको छ भने त्यसमा छानबिन होस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै नेपालले छानबिनका आफूले पूर्ण सहयोग गर्ने बताए। ‘केही बदमासी भएको रहेछ भने त्यसमा छानबिन होस्। त्यसमा मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ,’ नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।