जोमसोम– मुस्ताङको कागबेनीमा बाढी पसेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको धार्मिक क्षेत्रमा बाढीले क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ।
आइतबार साँझ काग खोलामा एक्कासी आएको बाढी बस्ती पसेको थियो।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे काग खोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब १०० घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा ठाडो खोलाको बाढी पसेको जानकारी दिए। बाढीका कारण कागबेनीका सबै परिवार प्रभावित भएको उनले जानकारी दिए।
‘राति ८ बजे काग खोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ,’ अध्यक्ष गुङले भने, ‘३ वटा घर, ३ वटा पुल र सडक बगाएको छ। खोला आसपासका धेरै घरमा बाढी पसेको छ।’
राति बाढी आएका कारण सबै क्षतिको विवरण संकलन गर्न नसकिएको अध्यक्ष गुरुङको भनाइ छ। बाढीले पुर्याएको क्षतिबारे आज (सोमबार) विस्तृत रुपमा अध्ययन हुने उनको भनाइ छ।
मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताए। कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन्।
बाढीले बिजुलीका पोल समेत बगाएको छ। जसका कारण विद्युत् सुविधा समेत अवरुद्ध भएको छ। कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ। सिँचाइको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ।
मुक्तिनाथबाट बगेर आउने काग खोला (ठाडो खोला) कागबेनीको बीच भागमा छ। बाढीले कागबेनीको पूजास्थल समेत बगाएको छ।
नजिकै रहेको विद्यालय र छात्राबासमा समेत बाढी पसेको छ। बाढी पसेपछि छात्राबासमा रहेका विद्यार्थी र शिक्षक सुरक्षित ठाउँमा सरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।