काठमाडौं– न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढेको छ। न्यायिक समितिमा परेका उजुरीहरुमध्ये अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन लगायतका रहेका छन्।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरुको संख्या बढेको बताइन्। उनले पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन माग गर्दै उजुरीहरु पर्ने गरेको उल्लेख गरिन्।
उनले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरु बन्द गराइदिन र खाली गराइपाउँ भन्ने किसिमले पर्ने गरेको बताइन्। न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौंमा यस किसिमका संकेत देखिन राम्रो नभएको उनको भनाइ छ। यस्ता घटना बढ्नु भनेको अर्थतन्त्र चलायमान हुन नसक्नु रहेको उनी बताउँछिन्।
उनले भनिन्, ‘न्यायिक समितिको मुद्दाहरु हेरिरहँदाखेरी धेरैजसो अहिले पसलहरु बन्द गर्ने र सटर खाली गर्नुपर्यो, कोठा खाली गरिदिनुपर्यो भन्ने खालका विषय बढी आउन थालेका छन्। न्यायिक समितिको इजलाश बस्दाखेरी दशवटा हेर्यो भने आठवटा जति यस्तै खालका छन्। यसको संकेत पक्कै पनि राम्रो होइन। अहिले बजारमा धेरै पसलहरु बन्द हुन थालेको संकेत पनि हो। धेरै जनाले यो आर्थिक मन्दी आभाष गरिरहनु भएको छ। अर्थतन्त्र चलायमान नभएको भन्ने पनि यसले संकेत दिन्छ।’
उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तीव्रता दिने बताइन्। नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक भएकाले बजार र योजना अनुगमनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।