काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन्। गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्रीलाई धेरै नहौसिन चेतावनी दिँदै यसको अन्त्य यहाँ नहुने बताएका छन्।
'आज सुरु गर्नुभएको छ उहाँलाई आज मजा लागेको छ। तर यो राजनीति यहीँ अन्त्य हुँदैन। यो त सुरु भयो। यसको अन्त्य यहाँ हुँदैन। धेरै नहौसिन र अधिनायकवादी नहुन सरकारलाई म सम्झाउन चाहन्छु,' उनले भने।
सांसद सुनिल शर्मालाई पक्राउ प्रकरणमा बोल्दै उनले सुन काण्डबारे बोलेकै कारण शर्मालाई हतकडी लगाइएको आरोप लगाए।
'सुनिल शर्माले के गरेका थिए? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो,' उनले भने, ' यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो।'
उनले सांसद शर्मालाई पक्राउ गरिनु सामान्य कुरा नभएको बताए। उनले भने, 'सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दा चिट चाेरेकाे कुरा उठाएर गिरफ्तार गरिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।