लेख्दै जाँदा लागिरहेको छ- वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान)को 'वीरगाथा' हजार जिब्रा भएका शेषनागले समेत भनेर नभ्याउने जति रहेछ! डायरी छापिन थालेपछि त्यही अस्पतालका अन्य विभिन्न विभागमा आफूलाई ठगिएको महशुस गरेका थुप्रै बिरामी र तिनका आफन्तले गुनासो पोखेका छन्। वीर र ट्रमा सेन्टरका अप्रेशन थिएटर बाहिर सहज पहुँच पाउने दलाल र कतिपय चिकित्सकले नै टिपाउने नम्बरलाई लिएर 'स्टिङ अप्रेसन' गर्नैपर्ने त्यहाँस्थित कर्मचारीको अनुरोध छ।
वीर अस्पताल वरीपरी नै पाइने महंगो औषधिका लागि समेत दरबारमार्गतिर भेटिने दलालकहाँ पठाउने चिकित्सकको नाम टिपाइएका छन्। वीर अस्पतालमा 'भनसुन'का आधारमा पाइने 'भीआइपी' सेवा र अप्ठ्याराका फेहरिस्त बताउनेहरु प्रशस्त भेटिन थालेका छन्। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बीपी प्रतिष्ठान, कैलालीको सेती अस्पताललगायतबाट समेत फोन आइरहेका छन्। त्यहाँको हालबारे समेत उजागर गर्न अनुरोध भइरहेका छन्।
अस्पताल सेवाका लागि खुलेका हुन्। सरकारी अस्पताल त अझ आर्थिक रुपमा विपन्नहरुको भरोसाका केन्द्र हुन्। जीवनभर दु:खजिलो गरेर कमाउँदै पटुकीमा गाँठो पारेर सञ्चय गरेको पैसासमेत असुल्न खोज्नेहरुको नियत सम्झिदा सवैको मनमा गाँठो पर्छ। त्यही गाँठो मैले यसअघि शब्दमार्फत् फुकाएँ। वीरलाई अझै राम्रो बनाउने योजना बनाइरहेका नेतृत्व तहलाई आफ्नो प्रणालीमा आफैंले नदेखेका कमजोरी अवगत भयो होला। आगामी दिनमा सुध्रिने अपेक्षा छ।
सुधारका लागि उठेको एउटा औंलो पूरै हात होइन। चार औंला रहेको अरु हत्केलो बाँकी नै छ। दूरदराजबाट आउने बिरामीका लागि नि:शुल्क बेड मात्रै होइन, खाना समेत दिएर उपचार गरिरहेको अस्पताल प्रशंसाका लागि पनि उत्तिकै लायक छ। केहीलाई छाड्ने हो भने त्यहाँ धेरै त्यस्ता डाक्टर छन्, जसले वर्षौंदेखि मयल कट्कटिएर कठालो चम्किरहेको कोटको गोजी भित्रबाट निस्किने सफा नोटको महत्व बुझेका छन्। केही त्यस्ता नर्स छन्, जो 'फ्लोरेन्स नाइटिङ्गेल'को जीवनीबाट प्रभावित छन्। यिनीहरुकै कारण वीर अस्पताल शहरको बीचमा अझै चौडा छातिसहित उपस्थित छ।
उनीहरुकै इमान्दारिता, सेवाभाव र लगनशीलनता निरन्तरका कारण वीर (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समेत) को हाकिम हुन साम, दाम, दण्डभेद लगाउनेहरुको लाइन लाग्छ। अरुबेला वास्ता नगर्ने शितलनिवास, बालुवाटार र रामशाहपथ नियुक्तिका समयमा असाध्यै सक्रिय बन्छन्।
नेतृत्व गर्नेका लागि मात्रै होइन, जागिर खानेहरुका लागि पनि वीर आकर्षक थलो हो। म अस्पताल रहेका बेला भेट्न आइपुगेका मित्र बुद्धि कट्टेलको यस विषयमा सटिक टिप्पणी थियो- यो बिरामीका लागि होइन, डाक्टरका लागि आकर्षक अस्पताल बन्दै गइरहेको छ! यहाँ (न्याम्स : वीर र ट्रमा) 'सेवा' गर्न नपाउँदा 'झुन्डिएर मर्न तयार' डाक्टर छन्, यहीँ सेवा नपाएर मर्ने बिरामीहरु पनि छन्। अवस्था बडो विरोधाभाष छ।
यति हुँदाहुँदै पनि यहाँ केही त्यस्ता डाक्टर र नर्स छन्, जसले सेवाको अर्थ बुझेका छन्। वीर अस्पतालका बाध्यता महशुस गरेका छन्। बिरामीका शरीरको मात्रै होइन, मनको घाउको गहिराइ नापेका छन्। तिनैमध्ये एउटा हुन्, नर्स रविना थापा। हामी अस्पतालमा बसिरहँदा फिमेल मेडिकल वार्डमा उनको ड्युटी थियो। उनी ड्युटीमा आउँदा बिरामी र कुरुवा दुवैको अनुहार उज्यालिन्थ्यो। बिरामीलाई सकेसम्म सहजीकरण गर्नेदेखि लिएर मुस्कुराएर गर्ने उनको काउन्सिलिङका वार्डभरी 'फ्यान' भेटिन्थे। उनको ड्युटीको समयमा कुरुवाहरु 'निर्धक्क' महशुस गर्थे।
किनभने केही पर्दा बोलाउन गएमा उनी 'आइहालें' भन्थिन्। आफू र आफ्नो टिमबाट सकेसम्म द्रूत सेवाका लागि उनको प्रयास हुन्थ्यो। बिरामीको अवस्थाबाट आत्तिएर जतिपल्ट 'नर्सिङ स्टेसन'को झ्यालमा चिहाएपनि उनले 'झर्कोफर्को' गर्न जानिनन्।
सुरुमा मैले अन्य बिरामी कुरुवाबाट उनीबारे सुनें। उनको ड्युटी सुरु भएपछि छिमेकी कुरुवाले भने, 'रविना सिस्टर आउनुभयो। अब ढुक्क भयो।' पछि आफूले पनि महशुस गरें। उनले नर्सिङ मनैदेखि रोजेको जस्तो व्यवहार देखिन्थ्यो। एचए पढिरहेकी एउटाले बिरामीलाई औषधि दिने क्रममा उनले सोधिन्, 'तपाईंलाई नर्सिङ पढ्न मन लागेन?' म नजिकै बसिरहेको थिएँ। संवाद प्रष्टै सुनिरहेको थिएँ। बिरामीले पहिले सिएमए पढेका कारण एचए रोजेको उत्तर दिइन्। मलाई लागिरह्यो- रविना सिस्टर जस्तै नर्सहरु प्रत्येक अस्पतालमा भेटिने हो भने हरेक आमाबुवाले छोरीलाई नर्स बनाउन चाहन्छ। हरेक दाजु बहिनी नर्स भएको हेर्न चाहन्छ! उनीहरुको संवाद भन्दा वरै रहेको मैले बोली मिसाउन सकिनँ।
वीर अस्पताल बसाइका पाँच दिनलाई सहज बनाइदिने 'सिस्टर रविना' जस्तै अर्को पात्र थिए, 'मिस्टर ग्रेन डंगोल।' जो श्रीमतीको कलेजोको समस्याका कारण त्यही वार्डमा भर्ना गरेर उपचार गराइरहेका थिए। रोगको प्रष्ट निदान अझै भइनसकेको अवस्थामा उनीसँग तनावको चाङ थियो। वार्डमा उनको सक्रियता हेर्दा लाग्थ्यो- अन्य बिरामीको उपचारका लागि खटाइएका व्यक्ति हुन्। आफ्नो तनाव तपसिलमा राखेर उनी अन्य बिरामीको सहयोगका लागि हरदम तयार भइहाल्थे।
आफ्नो बेड वरपरका बिरामीका आफन्तलाई उनी भन्थे- 'तपाईंहरु आराम गर्नुहोस्। म हेर्छु। केही परे उठाउँला।'
उनी रिपोर्ट लिनेदेखि बिरामीलाई खाने खुवाउने काममा समेत अरुलाई सहयोग गर्न अघि बढिहाल्थे। कोही नयाँ भर्ना भएर आउँदा वार्डमा रहेको प्रक्रियासँग उनी सहजीकरण गरिदिन्थे। आफ्नै व्यथाले ओछ्यानमा लम्पसार बिरामीलाई हसाउन उनी हरदम प्रयास गरिरहन्थे।
दिनभर बिरामी हेरचाहको खटाइपछि आफू वरीपरिका ६ बेडका कुरुवाका लागि उनले बेलुका तयार गर्थे, स्पशेल कफी। उनको त्यही स्वभावले हामी बसेको वार्ड अस्पताल जस्तो पटक्कै लागेन। एउटा गाउँजस्तो महशुस भयो! पाँच दिनको अस्पताल बसाइँ पट्यारलाग्दो पनि बनेन।
हामी डिस्चार्ज हुने दिन उनी खुशी थिए। हाम्रो बिरामी घर फर्किदा उनलाई आफ्नै मान्छे निको भएजस्तो महशुस भइरहेको थियो। हाम्रो झिनीगुन्टा बोकेर उनी सडकसम्मै छाड्न आए र फोन नम्बर दिँदै भने- केही पर्दा सम्झिनु। उनको व्यवहारले केही पर्दा होइन, नपर्दा झन् बढी सम्झिने बनाइसकेको थियो।
र, वीर अस्पताल डायरी यहीँ टुंगिन्छ- सलाम सिस्टर रविना, मिस्टर ग्रेन!
यो पनि पढ्नुहोस्
वीर अस्पताल डायरी (पाना नं १): ल्याबबाट सिधै दलालको फोन नम्बर लेखेर 'ठगिन पठाइन्छ' बिरामी
वीर अस्पताल डायरी (पाना नं २) : सद्दे उपकरण कुन छ? 'प्राइम टाइम'मै डाउन हुन्छ फार्मेसीको सर्भर!
वीर अस्पताल डायरी (पाना नं ३) : वीरकै कर्मचारीले नबुझेको 'सिस्टम' र त्यही 'सिस्टम'ले गरेको एउटा 'हत्या'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।