काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जारी सदनको अवरोध खुलाउन सबै सांसदहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले यस्तो धारणा राखेका हुन्।
उनले केही साधादेखि संसद्को नियमित कारबाही अघि बढ्न नसकेको अवस्थामा त्यसलाई समाधान गर्न सबै सांसदले सहयोग गर्नुपर्ने बताए।
उनले भने, ‘केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ। कैयौं विधेयकहरु छलफल भएको छैन। परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौं। पछिल्लो समय संसद् अवरोध नियमित कानुन बनाउन बाधक भएको छ। माननीयज्यूहरुले संसद अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु।’
संसदले पछिल्ला वर्षहरुमा नियमित काम गर्न नपाएको उनको भनाइ थियो। अघिल्लो संसद्मा पनि संसद विघटन, पुन:स्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा प्रर्याप्त छलफल नसकेको उनले बताए।
उनले भने, ‘मानवअधिकार आयोगको घटुवाजस्ता गम्भीर विषयमा जसरी संसद्मा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। अरु पनि थुप्रै विधेयकहरु छन्, नीतिहरु बनाउनुपर्ने अवस्था छ। यो परिस्थितिको अन्त्य हुनैपर्छ।’
मानवअधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको सभामुख घिमिरेले बताए। यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको उनको भनाइ थियो। संसद्मा पनि अथासक्य यस विषयमा छलफल हुनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।