तस्बिर रासस
काठमाडौं– प्रमुख सत्तापक्ष नेपाली कांग्रेसको संसदीय दलको पहिलो दिनको बैठक सकिएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सुन तस्करीदेखि नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्माकोबारेमा कुरा उठेको छ।
सांसदहरुले पछिल्ला केही दिनदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको, बिहीबारमात्र सांसद शर्मा पक्राउ परेको र सुन तस्करीमा सीआईबीले अनुसन्धान तीव्र पारेको कुरामा आफ्ना धारणा राखे।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सुरु भएको संसदीय दलको बैठक आइतबारका लागि निरन्तर राखिएको छ। शुक्रबारको बैठकमा केही सांसदहरुले आफ्नो धारणा राखेको र आइतबार बाँकी सांसदहरुको धारणा राख्नेक्रम हुने प्रमुख सचेतक रमेश लेखकले बताए। आइतबार सबैको धारणा आएपछि कांग्रेसले अहिले बजारमा भइरहेका विषयमा आफ्नो ठोस धारणा सार्वजनिक गर्ने लेखकको भनाइ छ।
शुक्रबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सांसद शर्माको गिरफ्तारीबारे आलोचना गरे। सांसद शर्माले सुन तस्करी प्रकरणमा बोलेको कुरालाई लिएर गरेको आलोचनादेखि नेपाली कांग्रेसप्रति सरकारबाट आक्रमण भएकोसम्म टिप्पणी गरे।
संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकमा सांसदहरु दीलेन्द्रप्रसाद बडू, अर्जुननरसिंह केसी, श्याम घिमिरेलगायतले नक्कली प्रमाणपत्रमा पक्राउ परेका सांसद शर्माको पक्षमा धारणा राखेका थिए।
सांसद श्याम घिमिरेले संसद् चलिरहेको बेलामा सांसदलाई गिरफ्तार गनैपर्ने सरकारको बाध्यताबारे प्रश्न उठाए। सांसद रामनाथ अधिकारीले पनि पार्टीका सांसद शर्मामाथि सरकारले पूर्वाग्रही र प्रतिशोध राखेको टिप्पणी गरे।
अर्का सांसद उदयशमसेर राणाले सर्वोच्चले छानबिन गर भनेका व्यक्तिलाई विदेश जाने दिने, तर शर्मालाई पुरानो कुरामा समात्ने कार्यले सरकारको नियमतमाथि प्रश्न उठेको बताए। राणाले पूर्वमन्त्री बालकृष्ण खाणलाई अभियोग लगाउने तर रामबहादुर थापा बादलसहितलाई किन उन्मुक्ति भयो भनी प्रश्न गरे।
सांसद अर्जुनरसिंह केसीले सांसद शर्मालाई पक्राउ गर्ने कार्य पूर्वाग्रहपूर्ण र नियोजित भएको दाबी गरे।
सुन प्रकरण र संसद् अवरोधमा नयाँ विकल्प
त्यस्तै केही समयदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेले गरिरहेको संसद् अवरोध र सुन तस्करी प्रकरणमा पनि कांग्रेस सासदहरुले धारण राखेका छन्। नेकपा एमालेले साउन १० गतेयता संसद्मा छानबिन समिति माग गरेर अवरोध गरिरहेकाले यसको निकास निकाल्ने विकल्प नेपाली कांग्रेसले दिनुपर्ने कुरा आजको बैठकमा आएको प्रमुख सचेतक लेखकले बताए।
बैठकमा सांसदले उच्चस्तरीय नभई सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी संसदीय समितिलाई नै जिम्मा दिन सकिने कुरा उठाए। बैठकमा सर्वोच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग बनाउन सकिने कुरा पनि आएको उनले बताए।
बैठकमा सांसद अर्जुननरसिह केसीले पूर्व न्यायाधीशको नेतृत्वमा समिति बनाउन सकिने कुरा राखेका थिए। त्यस्तै अहिलेको सबैभन्दा राम्रो विकल्प प्रतिनिधि सभा अन्तर्गतकै राज्य व्यवस्था समितिलाई दिने विकल्प पनि सांसदहरुले राखेको उनले बताए।
प्रमुख सचेतक रमेश लेखकले सुन प्रकरणको छानबिन गर्ने अधिकार संसद्को राज्य व्यवस्था समितिलाई दिन सकिने तर्क राखेका छन्। संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत बोलाउन नसक्ने भएकाले उक्त विकल्प उत्तम हुने कुरा आएको उनले बताए। अर्को बैठक आइतबार बस्ने र सांसदहरुले आफ्नो कुरा राख्नेगरी सकिएको लेखकले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।