काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्राउको विरोध गरेको छ। सांसद शर्मालाई इगो (प्रतिशोध) साध्नका लागि पक्राउ गरिएको एमालेको आरोप छ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद ज्वालाकुमारी साहले सुन प्रकरणबारे कुरा उठाएका कारण शर्मालाई पक्राउ गरिएको बताइन्।
उनले भनिन्, ‘सुन प्रकरणका भ्रष्टाचारीका विरुद्ध उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ भनेर पटक-पटक आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबबाट समातिएको छ? यो कानुनअनुसार मिल्दैन। उहिले नै मिति सकिएको प्रमाणपत्रलाई बखेडा झिकेर समातिएको छ। घोर आपत्ति छ।’
मेडिकल व्यवसायी समेत रहेका कांग्रेस सांसद शर्मा नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेको भन्दै पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बिहीबार पक्राउ गरेको हो।
सीआईबीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न रहेकाहरुविरुद्ध ‘अपरेसन फक्सट्रट’ सञ्चालन गरिएको जनाएको छ। उक्त अपरेशनका क्रममा कांग्रेस सांसद शर्मासहित शुक्रबार दिउँसोसम्म ८ जना पक्राउ परेका छन्।
एमालेले भने सुन तस्करी प्रकरणमा शर्माले संसद्मा दिएको अभिव्यक्ति लगायतका विषयमा प्रतिशोध साध्नका लागि शर्मालाई पक्राउ गरिएको बताएको छ।
केही दिन अगाडि प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका शर्माले १ क्विन्टल सुन तस्करी प्रकरणमा सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको भूमिका शंकास्पद रहेको आरोप लगाएका थिए। उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने समेत बताएका थिए।
प्रमुख प्रतिपक्षी दल एमालेले पनि १ क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको शंकास्पद भूमिका रहेको बताउँदै आएको छ। एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ।
एमालेको अवरोधका कारण साउन १० गते यता प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि सरकारले भने राज्यका स्थापित निकायबाट नै तस्करीको अनुसन्धान हुने बताउँदै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो।
हाल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाली, भारतीय र चिनियाँ नागरिक समेत पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।