काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा जारी अवरोधप्रति चासो र चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटमा राष्ट्रपति पौडेलले जनताको आवाज उठाउनुपर्ने संसद् लामो समय अवरोध हुनुले राम्रो सन्देश नजाने भन्दै यसलाई खुलाउन आग्रह गरे।
राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए।
राष्ट्रपति पौडेलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि संसद्मा जारी अवरोधबारे चासो व्यक्त गरेका थिए।
शुक्रबार सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको भेटमा राष्ट्रपति पौडेलले ‘संसद्मा देखा परेको राजनीतिक गतिरोध फुकाउन के भइरहेको छ ?’ भनी चासो राखेका थिए। सभामुख र राष्ट्रिय सभा अध्यक्षले अहिलेको अवस्थाबारे व्रिफिङ गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।
साथै सभामुख घिमिरेले ‘अविभावकको नाताले’ संसद्को गतिरोध फुकाउनका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए।
त्यसपछि राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई पहल गर्न सुझाएका थिए। राष्ट्रपति पौडेलले आफूले पनि सक्दो पहल गर्ने वचन दिएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदका दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन। नेकपा एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति वनाउनुपर्ने माग गर्दै अवरोध जारी राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।