काँकडभिट्टा– भारतसँग जोडिएको नेपालको पूर्वी नाका झापाको काँकडभिट्टामा सीसीक्यामेरा जडान गरिएको छ। नाकाको सुरक्षा र निगरानीका लागि सीसीक्यामेरा जडान गरिएको हो।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सीसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ। मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सीसीक्यामेरा जडान गरिएका छन्।
सीसीक्यामेराको सवै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्नेछ। कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सीसीक्यामेरा जडान गरेको छ। दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारती बताउँछन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सीसीक्यामेरा जडान गर्ने कार्य थालिएको छ। मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।