काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली डाक्टरमाथि चलाएको अपरेसनका क्रममा बिहीबार कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेका छन्। एकैदिन सीआईबीले सांसद शर्मासहित पाँच जना पक्राउ गरेको छ।
तर सांसद शर्मा पक्राउ प्रकरणमा उनको सचिवालयले संघीय संसदमा सुन तस्करीको विषयलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण प्रतिशोध साँध्न पक्राउ गरिएको आरोप लगाएको छ। सांसद शर्माले केही दिनयता संसद र संसदबाहिर सुन प्रकरणको विषयलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका थिए।
संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जी समेत जारी नगरी शर्मालाई पक्राउ गरिनु प्रजातन्त्रको मर्मविपरीत भएकाे उनकाे सचिवालयले बताएकाे छ। सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करलाई कारवाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियतले शर्मालाई पक्राउ गरिएकाे दाबी उनको सचिवालयको छ।
सरकारको यस गतिविधिको सशक्त प्रतिकार गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।