काठमाडाैं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन्।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्ता कुरा बताएका हुन्। उनले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीले धारणा बनाउने बताए।
उनले संसद चलिरहेको बेलामा कुनै पनि व्यक्ति पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताए।
उनले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइए पनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन्? के छानबिन गर्ने कुरा हो? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै कांग्रेसले आफ्नो धारणा बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।