काठमाडौं– संघीय संसद प्रतिनिधिसभाका सांसद नै फौजदारी अपराधमा संलग्न रहेको खुल्दै गएको छ। जनताबाट प्रत्यक्ष निर्वाचित सांसद अहिले जेलदेखि प्रहरी हिरासत, निलम्बनदेखि फरार हुन परेको अवस्था छ।
जनताबाट चुनिएका ८ महिनाभित्रै फौजदारीजस्तो जघन्य अपराधमा मुछिएको पाइएपछि अहिले चार जना प्रतिनिधिसभाका सांसद कारबाहीका दायरामा छन्। आज बिहीबार मात्रै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कांग्रेसका प्रतिनिधिसभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ।
नक्कली सर्टिफिकेट बनाएको आरोपमा शर्मालाई सीआईबीले पक्राउ गरेको हो। उनी पक्राउको जानकारी सीआईबीले संघीय संसद सचिवालयलाई समेत दिइसकेको छ। यसअघि सीआईबीले नै नक्कली डाक्टरमाथि ‘अपरेशन क्वाक’ नाम दिएर अनुसन्धान सुरु गर्दा उनी फरार भएका थिए। उनै शर्मा कांग्रेसमा प्रवेश गर्दै मोरङ–३ बाट उम्मेदवारी दिँदै चुनाव जितेका थिए। उनी अहिले सीआईबीको हिरासतमा छन्।
प्रतिनिधिसभाका अर्का सांसद (हाल निलम्बित) टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका थिए। एमालेका सचिव समेत रहेका उनलाई पार्टीले निलम्बन समेत गरिसकेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर भएको करोडौं ठगीमा जोडिएको भन्दै उनलाई पक्राउ गरिएको थियो। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा बन्दी जीवन बिताइरहेका छन्। उनी एमालेको तर्फबाट अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए।
यस्तै मनाङबाट निवार्चित टेकबहादुर गुरुङ पनि अहिले निलम्बनमा छन्। भ्रष्टाचार जस्तो फौजदारी कसुरमा उनी मुछिएपछि संघीय संसद सचिवालयले उनलाई निलम्बन गरेको छ।
भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो। गुरुङविरुद्ध मेला सञ्चालक (भृकुटी मण्डप फनपार्क) ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी गरिएको थियो।
६७ वर्षीय गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी २०७० मा श्रम तथा रोजगार राज्यमन्त्री बनेका थिए। म्यानपावर व्यवसायीको पृष्ठभूमि रहेका उनी २०७० मा मनाङबाटै निर्वाचित भएका थिए।
यस्तै एमालेबाट निर्वाचित लक्ष्मी महतो कोइरी पनि निलम्बित छन्। जनता समाजवादी पार्टीबाट बाहिरिएर नेकपा एमालेमा प्रवेश गरेर उनले महोत्तरी–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए। उनले माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई हराएर चुनाव जितेका थिए। उनै सांसद कोइरी अहिले निलम्बित छन्। कोइरीविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको छ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा उनी जोडिएका थिए। मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई विकको हत्या भएको थियो। एम्बुलेन्सबाट थुतेर असईको हत्या गरिएको थियो।
सात वर्षअघि मधेस प्रदेशमा आन्दोलन हुँदा महोत्तरीमा असई विकको हत्या भएको थियो। घाइते भएर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सनबाट थुतेर विश्वकर्माको हत्या गरिएको भन्दै जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो। यसअघि धनुषा जिल्ला अदालतले १० लाख धरौटीमा उनलाई छोडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।