काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछि संसद्मा जवाफ दिएका छन्। बिहीबार लोकसभामा अविश्वासको प्रस्तावमाथि जवाफ दिँदै प्रतिपक्षी दलहरूले देशलाई निरासाबाहेक केही नदिएको बताए।
उनले विपक्षी दलहरूमाथि आक्रोश व्यक्त गर्दै अविश्वासको प्रस्ताव बिजेपीका लागि शुभ भएको बताए। विपक्षीहरूले एकजुट भएर प्रहार गरेर फिल्डिङ गरे पनि पनि चौका र छक्का भने आफैले हानेको उनले बताए। विपक्षीहरूले नो बल गरिरहेको उनको भनाइ थियो।
उनले प्रतिपक्षलाई पाँच वर्ष आफूले दिए पनि उनीहरू तयारी बिनै आएको बताए।
आफ्नो कार्यकालमा जनविश्वास विधेयक, मध्यस्थता विधेयक, दन्त चिकित्सा आयोग विधेयक, जनजातिसम्बन्धी विधेयक, डिजिटल डेटा संरक्षण विधेयक, राष्ट्रिय अनुसन्धान प्रतिष्ठान विधेयक, कोस्टल एक्वाकल्चरसम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयक पारित गरेको भनाइ उनले राखे।
उनले आफूमाथिका आरोपहरूबारे भने केही जवाफ दिएनन्। विपक्षीहरूले आफूविरुद्ध अविश्वासको प्रस्ताव पेस गरे पनि जनताले यसअघि नै अन्य दलहरूप्रति अविश्वासको घोषणा गरिसकेको उनको भनाइ थियो। सन् २०२४ को निर्वाचनमा बिजेपी झनै सशक्त भएर उदाउने दावी उनले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।