काठमाडौं- खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका पुगेपछि कपनमा तनाव सिर्जना भएको छ। बिहीबार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिई खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो।
काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको थियो। तर बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष नवराज भट्टराईसहितका जनप्रतिनिधिले उक्त कार्य रोक्न खोजेपछि झगडाको अवस्था सिर्जना भएको हो।
दुई पालिकाबीच द्वन्द्वको अवस्था आएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेर वार्ता गराएको छ। बूढानीलकण्ठ १० का वडाअध्यक्ष भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्ने थाहै नदिकनै काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आएको बताए। रोक्न खोज्दा दुर्व्यवहार भएको आरोप उनले लगाएका छन्।
काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश आएकाले भत्काइ छाड्ने बताइरहेका थिए। बुढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको उनको भनाइ थियो।
दुई पालिकाबीच तनाव बढेपछि काठमाडौंका मेयर बालेन्द्र शाह र बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीबीच वार्ता भएको थियो। त्रिपक्षी प्राविधिक टोलीले नापजाँच गर्ने सहमति भएपछि महानगरको डोजर फिर्ता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।