काठमाडौं- सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐन २०८० विरुद्ध निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुले प्रदर्शन गरेका छन्। शिक्षा विधेयक नआउँदै निजी विद्यालयलाई सरकारले नियन्त्रण गर्न खोजेको भन्दै उनीहरुले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय आन्दोलन परिचालन समितिका टीकाराम पुरीले आफूहरुलाई सरकारले सडक उत्रिन बाध्य पारेको बताए। उनले भने, ‘हामीहरु आन्दोलनकारी वा प्रदर्शनकारी होइनौं। सरकारले बाध्य गराएर सडकमा बोलायो र आयौं।’
उनले आइतबारदेखि सम्पूर्ण स्कुलहरु बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। आफ्ना माग पूरा नहुँदासम्म सडकमै रहने उनले बताए। सरकारले उच्च शिक्षालाई ध्वस्त बनाए जस्तै निजी विद्यालयहरु समेत बन्द गर्न लागेको भन्दै यो आन्दोलनलाई निर्णायक बनाएरै छाड्ने चेतावनी दिए।
एनप्याव्सनका अध्यक्ष पाण्डव हमालले यो शिक्षा ऐन कसका लागि आएको भन्दै प्रश्न गरे। उनले भने, ‘२०६२/०६३ को आन्दोलन होस् वा अन्य आन्दोलन शिक्षा क्षेत्रका साथीहरुको महत्वपूर्ण भूमिका छ। त्यो भूमिकालाई सरकारले नजरअन्दाज गर्दैछ।’
त्यसैगरी हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले ल्याएको प्रस्तावित शिक्षा ऐनमा शिक्षामैत्री नभएको बताए। उनले भने, ‘सरकारको प्रस्तावित शिक्षा ऐन शिक्षामैत्री भएन। विशेषगरी निजी मैत्री भएन।’
उनले सरकारले ल्याउने विधेयक अभिभावक, शिक्षक, विद्यार्थी र निजीमैत्री हुनुपर्नेमा जोड दिए। उनले राजा-महाराजालाई समेत नछोडेको भन्दै आफ्ना माग पूरा नभए कुनै पनि हालतमा नछोड्ने चेतावनी दिए।
प्याव्सनका अध्यक्ष डिके ढुंगानाले शिक्षा नीति सामुदायिक वा निजी विद्यालयलाई सम्बोधन गर्ने खालको नभएको बताए। उनले सरकारले ल्याउन लागेको प्रस्तावित शिक्षा विधेयक सच्याउनु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।