एजेन्सी- बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनामा प्रभावितको उद्धारका लागि सैनिक परिचालन गरिएको छ। राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो।
चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमबार यता भएको वर्षापछिका विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ। उक्त क्षेत्रमा अहिले पहाडको भिरालोमा बसोबास गरिरहेका करिव १० लाख रोहिंग्या शरणार्थीहरूको घर रहेको छ।
बंगलादेशका शरणार्थी, राहत र स्वदेश फिर्ता कमिश्नर (आरआरआरसी) मोहम्मद मिजानुर रहमानले भने, ‘सोमबारदेखिको भारी वर्षाका कारण दुईवटा छुट्टाछुट्टै पहिरोमा परी चार रोहिंग्याको मृत्यु भएको छ, र दुई जना घाइते भएका छन्।’
कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ। बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ।
वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।