काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन्। बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रममा उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताएका हुन्।
बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकरण गर्ने बताएका थिए।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि नेम्वाङले शर्तबन्दी नगर्ने बताएका हुन्।
आफूहरू देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरि दृढतापूर्वक उभिने बताए। उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धि पनि आफूहरूकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गरे। उनले आफूहरूकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको उनको भनाइ थियो।
‘हिजो अस्ति एकजना मित्रले भन्नुभयो, नाम बिर्सिएँ मैले। म नाम अलिक बिर्सिन्छु, ०८४ मा हामीलाई जिताउनु भयो भने कोशी प्रदेशको नाम नै फेरिदिन्छु भनेर उहाँले भनेको मैले कताकता पढेको जस्तो लाग्यो। झल्झली अनुहार याद छ, नाम चाहिँ बिर्सें,' प्रचण्डलाई लक्षित गर्दै उनले भने, 'हामी त्यसरी शर्तबन्दी गर्दैनौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।