काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्। भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए। त्यसअघि बिहीबार अनौपचारिक छलफलका लागि देउवा निवास धुम्बाराहीमा पनि छलफल राखिएको छ।
संसद्मा जारी रहेको गतिरोध लगायतका विषयमा बैठकमा छलफल हुने लेखकले बताए। कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ छन्।
देउवाले समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन्।
सुन तस्करीका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न दिएको छैन। त्यस्तै सरकार सञ्चालन र सत्ता पक्षको रुपमा प्रभावकारिताका बारेमा पनि बैठकमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।