काठमाडौं- गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि बिहीबारसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरो लगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन्। ३१ जना बेपत्ता भएका छन्।
ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए। उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ। ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन्।
यस्तै बेपत्ता हुनेहरु ६ जिल्लाका छन्। सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएको सहसचिव पन्थले जानकारी दिए। २८ जिल्लाका ५५ जना घाइते भएका छन्।
विपद्मा परेर कूल एक सय ३० घर पूर्ण रुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ। मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङ लगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो।
मनसुनको अवधिमा मुलुकभर कम पानी पर्ने आकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिरोका घटना निम्त्याइरहेको छ। यद्यपि, कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।