काठमाडौं- अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कारबाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न १० दिनको समय तोकिएको छ।
समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन्।
त्यस्तै कारागार कार्यालय संखुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको विषयमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न गठन गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव भट्टराईले छुट्टै विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्।
कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।