काठमाडौं- नेपालमा विगत केही समयदेखि पशुमा लम्पी स्किन रोग देखा परी किसानको पशुधनको क्षति भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले रोकथाम तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ। नेपालमा २०७७ साल असारमा पहिलोपटक देखिएको यो रोग पछिल्ला दुई वर्षमा व्यापक फैलिएको छ।
पशु सेवा विभागबाट आयोगलाई प्राप्त तथ्यांकअनुसार देशभर ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण २०८० साउन १४ सम्म ४८ हजार ८८० पशुको मृत्यु भएको, ११ लाख ४९१ संक्रमित भएकोमा १ लाख ८३ हजार ८०१ अझै संक्रमित अवस्थामा रहेका छन्।
हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई खोप लगाइएको छ ।
खेती लगाउने समयमा घरेलु पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रयास भए तापनि रोकथामका लागि जनचेतनामूलक कार्यक्रम प्रभावकारी ढंगले लागू हुन नसकेको निष्कर्ष आयोगले निकालेको छ।
उपचारको लागि औषधिको अभाव रहेको, औषधिको समानमा सहज पहुँच नरहेको र ग्रामीण स्तरसम्म पशु चिकित्सकको उपस्थिति पुग्न नसकेको जस्ता कारणले अझै पनि पशुहरु मर्ने क्रम जारी रहेको भन्दै आयोगले रोग रोकथाम तथा नियन्त्रणका लागि बुधबार तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।