काठमाडौं- शुक्रबारसम्म अनुचित लेनदेन (मिटर ब्याज) पीडितका ३ हजार १७ निवेदन फर्स्योट भएका छन्। सो निवेदन अनुसार कुल १ अर्ब २७ करोड २८ लाख ३ हजार ५२ रुपैयाँ पीडित ऋणी र साहुबीच लेनदेनको लिखत कारोबार भएको पाइएको अनुचित लेनदेन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।
साहुबाट २ अर्ब ३० करोड ८० लाख ५३ हजार ६ सय ९९ रुपैयाँ असुल हुन बाँकी छ भनी माग गरेका थिए। लिखत कारोबारभन्दा साहुबाट ऋणीसँग १ अर्ब ३ करोड ५२ लाख रुपैयाँ बढी माग भएको बताए। तर कुल ८८ करोड ३६ लाख ६७ हजार ४ सय ३७ रुपैयाँमा दुवै पक्षबीच सहमतिमा टुँगिएको उनको भनाइ छ।
साहुबाट ऋणीसँग असुल उपर हुन बाँकी छ भनी माग गरेको २ अर्ब ३० करोड ८० लाख रुपैयाँमा १ अर्ब ४२ करोड ४४ लाख घटेर सहमति भएको छ।
अहिलेसम्मको मिलापत्रबाट साहुहरुले लिखत १ अर्ब २७ करोड २८ लाखभन्दा ३८ करोड ९२ लाख रुपैयाँ घटेर सहमत भएका छन्। ७४ बिघा १५ कठ्ठा १० धुर जग्गा साहुबाट निवेदकलाई फिर्ता गराइएको छ।
आयोगले २०८० वैशाख १७ देखि जेठ १४ सम्म पीडितहरुको निवेदन लिइएको थियो। उक्त अवधिमा मिटरब्याज पीडितहरुको करिब २४ हजार निवेदन पर्न आए। निवेदन दिन ७७ जिल्ला प्रशासन कार्यालयमा पीडित सहायता कक्ष खडा गरिएको थियो। निशुल्क रुपमा कर्मचारीले नै निवेदन फाराम भराइएको थियो। सिधै गुगल फाराममा निवेदन दिने सुविधा पनि थियो।
मधेसका ८ जिल्लामा १८३५६ र पश्चिम नवलपरासीमा १८८९ गरी ९ जिल्लामा मात्र २०२४५ बीस हजार बढी निवेदन परेको छ। सबभन्दा बढी बारा जिल्लामा ३३२२ निवेदन परेको छ। अनुचित लेनदेनको केन्द्र नै मधेस प्रदेश र पश्चिम नवलपरासी देखिन आएको कार्की बताउँछन्।
कपिलवस्तु १२६, सुर्खेत १२३, बर्दिया १९१, मोरङ १९९, कैलाली २४६, दाङ ३६३, सुनसरी ४०८ निवेदन परेका छन्।
काठमाडौं ४७८ र रुपन्देही ५५० गरी ६५ जिल्लामा निवेदन परेका छन्। २ देखि ४ वटा निवेदन परेका र अहिलेसम्म सुल्झिसकेका २२ जिल्ला रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।