फाइल तस्वीर
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका छन्।
उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको त्यसमा संलग्न भएको पुष्टि भएको उनले बताए। बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दसौदीले आफ्नो पार्टीले पारदर्शी ढंगले राज्य संचालन गर्नका लागि उच्चस्तरीय समिति गठन गरी सो प्रकरणको छानबिन गर्न माग गरे पनि संसद अवरुद्ध पार्ने मनसाय भने नराखेको भनाइ राखे।
‘हाम्रो संसद अवरुद्ध पार्ने कुनै मनसाय छैन। तर सरकार सुन तस्करी छानबिनका लागि तयार हुनुपर्छ। देश र जनताको हितका लागि त्यो छानविन समिति आवश्यक छ,' उनले भने, 'हामीलाई यो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै गम्भिर आशंका छ। त्यसैले छानबिन समिति गठन गर्ने माग गर्नु परेको हो। तर, सरकार डराइरहेको छ।’
सांसद दसौदीले राज्यका सुरक्षा निकायको कडा निगरानी राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसरी क्विन्टल सुन भित्रिरहेको छ भनेर प्रश्न पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।