काठमाडौं– प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (बुधबार) पनि अवरोध गरेको छ। एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित बुधबार प्रतिनिधि सभा बैठकमा वेल घेराउ गर्यो।
बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिएका थिए। थापालाई बोल्ने समय दिएपछि सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए।
सत्ता पक्षका सांसदहरुको विरोधका बीच बोलेका थापाले १०० किलो सुन प्रकरणमा तस्करलाई संरक्षण गर्ने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ आएकाले एमालेको विरोध जारी रहेको बताए।
थापाले बोलिसकेलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरे। एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक साउन २६ गते, शुक्रबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।