काठमाडौं– प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको भन्दै असन्तुष्टि पोखेकी छन्। ‘उप’ले ‘चुप’ रहनुपर्ने भनेर भन्ने गरिएको भन्दै रानाले असन्तुष्टि पोखिन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप’लाई ‘चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन्।
रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न समेत गरिन्। उद्दले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो? भन्दै थप प्रश्न गरिन्।
उपसभामुख रानाले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन्।
उपसभामुख रानाले भनिन्– ‘संविधान देशका लागि, जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ। मेरो प्रश्न छ, आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद् खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई। उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ? नियममा कहाँ लेखेको छ, उप चुप भनेर? संसद्मा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि? यो मेरो प्रश्न छ।’
उपसभामुख रानाले देशमा अहिले सुशासन नभइ कुशासन रहेको टिप्पणी गरिन्। ‘शुसानको कुरा गर्नुहुन्छ, यो सुशासन हो कि कुशासन हो? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो कि, बालक हो कि म? कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेसन खोलिन्छ। अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन्?’ रानाले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।