काठमाडौं– उपप्रधानन तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणदेखि ललिता निवाससम्मका प्रकरणमा दोषी देखिएमा कसैलाई नछोड्ने बताएका छन्।
प्रतिनिधिसभामा जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले यस्ता प्रकरणमा संलग्न भएको प्रमाण पुग्ने जुनसुकै पार्टीको जोसुकै भए पनि कारवाही गर्न आफू पछि नहट्ने बताए। नेकपा एमालेले गरिरहेको मागलाई व्यङ्ग्य गर्दै उनले पहिले सीआईबीको फाइल गृह मन्त्रालयमा ल्याउने चलन थियो भनेर उनले प्रश्न पनि गरे।
‘विगतमा सरकारमा हुँदा सीआईबीले गरिरहेको अनुसन्धानको फाइल पहिला गृहमन्त्रीका आउने अनि हेरेर कसलाई मुद्दा चलाउने चलन थियो र? ’ उनले भने ‘अहिले यस्तो हुँदैन। सीआईबीले गरेको अनुसन्धानमा हस्तक्षेप हुँदैन। अनुसन्धानको विवरण गृहमन्त्रीको टेबलमा आउँदैन। अहिले यस्तो हुदैन। अनुसन्धानमा देखिएका सबैमाथि अनुसन्धान हुन्छ। ’
उनले माओवादी वा जोसुकै पार्टीका भए पनि अनुसन्धानमा दोषी देखिए नछुट्ने बताए।
‘कोही उम्कन पाउँदैन। म गृहमन्त्रीको रुपमा यो भनिरहेको छु,’ उनले भने, 'दोषी देखिएका सबैमाथि अुनसन्धान गरेर मुद्दा चलाउन सीआईबीलाई स्वतन्त्रपूर्वक अनुसन्धान गर्न दिइएको छ। ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।