काडमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुन तस्करी प्रकरणमा एमालेले माग गरेको छानविन समितिमा सहमति जनाउँदै सरकारको अनुसन्धानमा शंका व्यक्त गरेका छन्। प्रतिनिधि सभाको विशेष समयमा उनले छानविन समिति बनाउँदैमा सरकारलाई नै समस्या नहुने भन्दै एमालेसँग आफू सहमत रहेका बताए ।
‘देशको अवस्था बारेमा कुराकानी छैन तर दलहरुका बीचमा भागवन्डा मिलिरहेको छ। सरकार पनि संसद नचलोस् भन्ने पक्षमा रहेको छ, 'उनले भने ‘सरकार उन्मुक्ति दिनुपर्नेलाई दिने, अनि ठोक्नुपर्नेलाई ठोक्ने काम गरिहेको छ। अनि किन संसद सञ्चालन हुनुपर्यो!’
उनले रोम जल्दा निरो बाँसुरी बजाएर बसेझै सरकार बसिरहेको आरोप लगाए।
‘प्रतिपक्ष दलले गम्भीर विषयमा उच्चस्तरीय छानविनको माग गरेपछि बनाउँदा क्षति हुने विषय के थियो? के नोक्सान हुने थियो?’ उनले भने ‘सबै अनुसन्धान पूर्ण छन्? सबै विषयमा कारबाही भएका छन्? ’
नक्कली भुटानी प्रकरणमा पनि उनले प्रश्न गरे। उनले भने, 'तपाईंहरुले गरेको अनुसन्धान पूर्ण छ? ललिता निवासमा पूर्ण छ?' ललिता निवास प्रकरणमा सरकार अनुसन्धान अपूर्ण छ भन्ने अदालतले भनेको भन्दै सरकारले कसैलाई जोगाउन खोजेको कुरा अदालतले भनेको दावी उनले गरे।
‘सुन प्रकरणमा गृहमन्त्री ,अर्थमन्त्री र प्रहरी प्रमुखको बयान सीआईबीले लिन सक्छ?’ उनले भने ‘तपाईंहरू सत्ता पक्षका सांसदको नाम किटेर यहाँ नाम आएको छ। प्रहरीले वहाँहरुलाई बयान लिनसक्छ?’
त्यसैले उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक रहेको उनले बताए। ‘छानविन समिति बनाउँदैमा सरकार ढल्दैन,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।