काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तोकिएको समयमा संसद् चलाउन रुलिङका लागि सभामुखसँग माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सदन चल्ने समय सभामुखमार्फत सचिवालयले तोकेपछि त्यही समयमा सदन सुरु हुनुपर्ने बताए।
तीन दलका तीन नेता बसेर आफूले निर्णय गरेर संसद्लाई बन्धक नबनाउन उनले आग्रह गरे। उनले संसद् चल्ने समयमा नै तीन दलबीच बार्गेनिङ किन सुरु हुन्छ भनेर प्रश्न पनि गरे।
'तीन जना नेता मिलेर छलफल गर्नुपर्ने भएपछि पहिले नै बैठक बसेर मिल्नुपर्ने मिलाउनेपर्ने कुरा किन गर्न सक्दैनन्? रातारात किन गर्न सक्दैनन्। यो बार्गेनिङ सदन चल्ने समयमा नै किन गरिन्छ?' उनले प्रश्न गरे।
'सूचना टाँसिसकेपछि त्यो सदनमा घण्टी बज्नुपर्छ। घण्टी बज्नुपूर्व नै जे जे मिलाउने हो मिलाए हुन्छ,' अगाडि उनले भने, 'प्रत्येक दिन जनताका प्रतिनिधिहरू घडी हेरेर सदन किहले खुल्छ भनेनर कुरिहरेका छन्। केही दलका केही नेता बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर सदनलाई बन्धक बनाउन पाइदैन। सभामुखबाट रुलिङ होस्, कुनै पनि दिन तोकिएको समयमा संसद चल्छ भनेर।'
यसअघि सत्तारुढ दलका नेताले नै बजेट पास नभई सदन चल्न नदिने भने पनि पछि बार्गेनिङ गरेर सदन चल्न दिएको आरोप पनि उनले लगाए। उनले भने, 'यो बजेट पास हुन दिन्नौँ भनेर सत्तापक्षमा बसेर कराउने मान्छेले खुरुखुरु पास गरेका थिए। त्यो बार्गेनिङ नै थियो त होला नि। नत्र यहीँ बोलेको हो। यथास्थितिमा पास भयो। के कारणले पास भयो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।