काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्तसहित संसद् बैठक सञ्चालनका लागि सहमत भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सदन सञ्चालनका सम्बन्धमा छलफल भएको थियो।
एमालेले माग गरिरहेको उच्चस्तरीय छानबिन समितिको सन्दर्भमा भने बैठकमा कुनै सहमति नभएको एमालेका सचेतक महेश बर्तौलाले बताए। तर, सांसदहरुले आफ्ना विविध विषय राख्ने र सुन काण्ड लगायतका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने उनको भनाइ छ।
बर्तौलाले भने, ‘देशभरका मानीनयहरुले आफ्नो धारणा राख्नुपर्ने अवस्था छ। बाढी पहिरो, लम्पी स्किन लगायतको विषय छन्। यी तमाम विषयहरुमा पनि हाउसलाइै ओपन गर्नुपर्ने अवस्था छ।’
गृहमन्त्रीले जवाफका क्रममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो मागलाई सम्बोधन गरेमा आफूहरुले स्वागत गर्ने तर त्यसो नभएमा आफूहरुले विरोध गर्ने उनले बताए।
तस्करीको १ क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठकमा अवरोध पुर्याउँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।