काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नी पत्नी बुशरा बेगमसँग भेट गर्ने इच्छा व्यक्त गरेका छन्। उनले यसका लागि अधिकारीसँग अनुरोध गरेका छन्।
इमरान खान यतिबेला अटक जेलमा छन्। इस्लामावादको एक अदालतले उनलाई शनिबार तोशाखाना मामलामा तीन वर्षको सजाय सुनाएको छ।
उनका वकिल सोमबार भेट्न जेलमा गएका थिए। वकिलमार्फत् इमरानले पत्नीसँग भेट्न चाहेको कुरा अधिकारीहरुसम्म पुर्याएका हुन्। साथै खानले आफ्ना समर्थकलाई धन्यवादसमेत दिएका छन्।
वकिलको टिममा संलग्न नइम हैदरका अनुसार खानलाई सी क्याटागोरीको जेलमा राखिएको छ। एक सानो कोठा दिइएको छ भने खुला शौचालय उपलब्ध गराइएको छ।
हैदरका अनुसार खानले भनेका छन्, ‘मलाई अँध्यारोमा राखिएको छ। यहाा न टिभी छ न अखबार नै आउँछ। मिडियासमक्ष गएर बताउनुहोस्। म बरु मर्छु तर गुलामी स्वीकार गर्न सक्दिनँ।’
इमरान खानको सजाय रद्द गर्नका लागि सोमबार सुप्रिम कोर्टमा अपिल दिइएको छ। अपिलमा सुप्रिम कोर्टको फैसला आउनेबेलासम्म सजाय निलम्बनमा राख्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।