काठमाडौं– उच्च अदालत पाटनले काठमाडौंका व्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने पक्षमा अन्तरिम आदेश जारी गरेको छ।
काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेपछि त्यसविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी गरेको हो।
महानगरको निर्णयविरुद्ध व्यवसायीहरुले दर्ता गरेको रिटमा सोमबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले साउन ३० गतेसम्म उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको छ। उच्चले उक्त दिन दुवै पक्षलाई छलफलमा बोलाएको छ।
अदालतले काठमाडौं महानगरपालिकाको नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ। उच्चको यो आदेशपछि साउन ३० गतेसम्म काठमाडौंका व्यापारिक भवनहरुले पार्किङ शुल्क उठाउन पाउने भएका छन्।
उच्चले व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।