काठमाडौं– नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको जानकारी दिए।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए। ७१ जिल्लामा डेंगु संक्रमण देखिएको छ। डा मरासिनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्नेभन्दै सचेत रहन अनुरोध गरे।
डेंगु संक्रमणबाट यस वर्ष सात जनाको मृत्यु भएको छ। उनले भने, ‘गतवर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए। जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ। समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो। निजी स्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ। डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो। यसवर्ष हामी सचेत हुनुपर्ने कारण के छ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रिपोर्ट भइसक्या छ। अहिलेसम्म यसवर्ष सात जनाको मृत्यु भएको छ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि:शुल्क हुने गरेको बताए। डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा बिमल शर्मा चालिसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।