काठमाडौं- सोमबार यौनजन्य हिंसा न्यूनीकरणका लागि काठमाडौंमा उपमेयर सुनिता डंगोलको अध्यक्षतामा छलफल भयो। छलफलमा उपमेयर डंगोलले यौनजन्य हिंसा भएमा प्रहरीकोमाभन्दा संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा जानुपर्ने उपमेयर डंगोलले बताइन्।
‘यौनजन्य हिंसा भयो भने प्रहरीकोमाभन्दा ओसीएमसीमा जानुपर्छ। यहाँ पुगेपछि उपचार, कानुनी र प्रशासनिक सहयोग एकै ठाउँमा पाइन्छ। यसका लागि शुल्क तिर्नु पर्दैन,' उनले भनिन्, 'व्यक्तिको गोपनीयतालाई ध्यान दिइन्छ। उसको उपचार, कानुनी तथा प्रशासनिक विधि र प्रक्रियाका बारेमा सूचना दिइन्छ। मनोसामाजिक परामर्श गराइन्छ भन्ने सूचना सबैलाई हुनुपर्छ।’
के हो ओसीएमसी?
हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो। अस्पताल आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका २०७७ बमोजिम काठमाडौँका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन्। केन्द्रहरुमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरु आउने गरेका छन्। उनीहरुका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ।


ओसीएमसीका समस्या
विज्ञानमा आधारित प्रमाणका लागि प्रयोगशाला र जनशक्तिको अभाव छ। स्वास्थ्य र कानुनी उपचारपछि पुनर्स्थापनाका लागि सुरक्षित बासस्थान व्यवस्थापन गर्नुपर्छ। पहिलेको हिंसा दोहोरिँदैन भन्ने सुनिश्चित नहुञ्जेल पारिवारिक पुनस्र्थापना गराउन हुँदैन। आमा हिंसामा पर्दा नानीबाबु पनि प्रभावित हुन्छन्। यस्ता बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने असरबाट बचाउन आवास तथा उसको विकासका लागि उपयुक्त वातावरण आवश्यक पर्छ। यसका लागि पर्याप्त स्रोत उपलब्ध छैन।
घटनाबाट मानसिक समस्यामा परेका व्यक्तिहरुको रेखदेख सजिलो छैन। वेवारिसे र मानसिक सन्तुलन ठिक नभएका व्यक्तिको उपचार, कानुनी प्रक्रिया सबै जटिल छन्।
सबैभन्दा ठूलो कुरा त, यौनजन्य हिंसा अपराध हो भनेर व्यक्ति व्यक्तिलाई बुझाउनु पर्छ। स्वस्थ्य, नैतिकवान र जिम्मेवार नागरिक उत्पादन गर्न शिक्षा र सचेतनाका कार्यक्रम चलाउनु पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।