काठमाडौं- सदनको अवरोध हटाउन सोमबार बसेको प्रमुख दलका शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन टुंगिएको छ।
सभामुख देवराज घिमिरेको निमन्त्रणामा सोमबार दिउँसो तीन दलका शीर्ष नेताहहरू प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा बसेका थिए। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त छलफलमा सहमति नजुटेपछि बैठक साढे ३ बजे पुन: बोलाइएको थियो।
तर दोस्रोपटक पनि सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सभामुख घिमिरेले जानकारी दिए।
एमालेले हङकङबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। तर सरकार उच्चस्तरीय छानबिन बनाउन सकारात्मक देखिएको छैन। सोमबार पनि दिउँसो १ बजे निर्धारित संसद् सहमति नभएपछि चल्न सकेन।
तर सहमति नजुटेपछि बैठक दिउँसो साढे ३ बजे बोलाइ ४ बजेसम्मका लागि संसद् स्थगित गरिएको थियो। पुन: बोलाइएको बैठक जारी छ। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।
बैठकपछि सभामुख घिमिरेले मंगलबारको बैठकमा सदन खुलाउनेबारे सहमति हुने आशा व्यक्त गरे।
'संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो, तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन,' बैठकपछि सभामुख घिमिरेले भने, 'भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरूबीच सहमति हुनेछ। सहमतिको विकल्प छैन। संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन्।'
उनले आफू सूचना टाँसेर बैठक रोक्ने नजीर स्थापित गर्ने पक्षमा नरहेको बताए। भने, 'आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।