काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दु:ख व्यक्त गरेका छन्। घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
सोमबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन्।
तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिए पनि समयमै सुनुवाई नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिले टेकू प्रहरी परिसर अगाडि धर्ना दिएका थिए। सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका थिए।
सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भए पनि प्रदर्शनकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघले बताएका छन्। घाइते आन्दोलनकारीको उपचार जारी छ।
अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएका हुन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।