काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन महिला संघमा विवाद चुलिएको छ। संस्थापन पक्षले एकलौटी निर्णय गरेर महिला संघ जिल्ला समितिका अध्यक्षहरुलाई मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त भएको हो।
महिला संघकी सभापति उषा मिश्रले मनोमानी ढंगले विधान विपरीत कार्य गरेको भन्दै उनलाई बर्खास्त गर्नसमेत माग गरिएको छ।
महिला संघभित्रको विवादबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य रिता शाहीले साउन १८ गते पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, सहमहामन्त्रीहरुलाई महिला संघकी सभापतिले गरेको अवैधानिक कामबारे ध्यानाकर्षण गराएको बताएकी छन्।
उनले भनिन्,‘महिला संघको केन्द्रीय सभापतिले मनोमानी ढंगले विधान विपरीत कार्य गरेकी छन्। विधान विपरीत नभई विधानमा रहेर काम गर्न आग्रह गरेका थियौं। तर उहाँले विधानमा नरहेर काम गर्न थाल्नु भयो। त्यसको विरुद्ध हामी लागेका छौं। हामी २० जना साथीहरु एक साथ रहेका छौं।’
उनले जिल्ला समितिमा लामो समयदेखि नै संगठित भएर बसेका महिलाहरुमाथि अन्याय गरेको आरोप लगाइन्। असन्तुष्ट पक्षले १२ वटा जिल्लामा निर्वाचन समिति भंग गरेकोप्रति आपत्ति जनाएको छ।
मिश्रले महिला संघकी जिल्ला सभापतिहरू सोलुखुम्बुकी छिल्हामु शेर्पा, बाराकी सीता मैनाली, पर्साकी विद्या श्रेष्ठ, सिरहाकी विमला निरौला, ताप्लेजुङकी मीना गुरुङ, इलामकी निर्मला सन्जेल, महोत्तरीकी अध्यक्ष विना तिवारी, रौतहटकी भुवनी गिरी, कास्कीकी कोपिला रानाभाट, झापाकी सुशीला ढकाल र हुम्लाकी विजया बुढालाई हटाएकी थिइन्।
विधानविपरीत हटाइएका जिल्ला सभापतिहरुलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने संस्थापन इतरपक्षले चेतावनी दिएको छ। उनले आगामी केही दिनभित्र निर्णय नसच्याएको अवस्थामा समान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।