काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ समस्याको दलदलमा भासिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नुपरेको सम्पुर्ण समस्याको मूल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दूधर्म अन्धबिश्वास, रुढीबादी र विभेदमा आधारित छ, धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत भएको बताए।
मुलुकमा हाल विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्ग चित्र रहेको भन्दै थापाले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनवादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए।
सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरी प्रदेश तहको संरचना तत्काल खारेजी गर्नुपर्ने आवश्यकता औंल्याउदै थापाले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न चिन्ह उठिरहेको बताए। यस्तो अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरियर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने र त्यो वातावरण निर्माण गर्न आफू कृयाशील भइरहेको उनको भनाइ थियो।
सो प्रशिक्षणमा हिन्दूत्वको विषयमा पार्टीका उपाध्यक्ष डा विष्णु भण्डारी, संगठन निर्माण सम्बन्धमा पार्टीका महामन्त्री राजाराम बर्तौलाले प्रशिक्षण दिएको विभागका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।